काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले अबको निर्वाचनमा भोट परिवर्तन गर्नुपर्ने बताएका छन्। बिहीबार इलाममा सम्पन्न कार्यक्रममा उनले पुराना दलले पटकपटक झुक्याएकाले भोट परिवर्तन गर्नुपर्ने बताए। आफूहरू प्रतिबद्ध भएर राजनीतिमा आएकाले विश्वास गर्न आग्रह समेत उनले गरे।
अबको निर्वाचनमा अहिलेकै नेताहरू भेष बदलेर आफूहरूलाई खराब देखाउन आउने भन्दै त्यतिबेला भ्रममा नपर्न उनले आग्रह गरेका छन्। ‘यी मान्छेहरू फेरि भेष बदलेर आउनेछन्। तिनले आफूले के गरेँ भन्नेछैनन्, हामीलाई खराब देखाउन आउनेछन्। त्यत्तिखेर अन्तिम समयमा हो कि क्याओ हो कि क्याओ भनेर तपाईंलाई भ्रम पार्न आउनेछन्,’ उनले भने, ‘आजैदेखि तपाईंहरूको घरमा आएर सम्झाउन आएको छु। नझुक्किनु होला। यतिका वर्ष झुक्किनुभयो। अब कति झुक्किनुहुन्छ?’
अगाडि उनले भने, ‘सँगै बसेर छोराछोरी... आफ्नो देशमा छैनन्। विदेश जानका लागि ऋण खोज्दे बुवा भन्छन्। अझै झुक्किनुहुन्छ? घरमा पशुचौपाया मरेका छन् लम्पीस्किनले। भ्याक्सिन खोज्देऊ न, इन्सोरेन्सको पैसा निकाल्देऊ न भनेर हात जोड्नुपरेको छ। अझै विश्वास गर्नुहुन्छ? के बाँकी छ र अब?’
उनले रास्वपा दु:ख दिन नआएको बताए। रास्वपा देशको भविष्य भएको बताउँदै उनले यो यात्रामा आन्दोलन नहुने बताए। ‘यो देशको भविष्यसँग जोडिएको छ रास्वपा। हामी त हिँड्यौँ कम्मर कसेर यो यात्रामा। न कसैको डर छ न केही लोभ छ,’ उनले भने, ‘अब तपाईंहरू हिँड्नुपर्छ। यो यात्रामा तपाईंको एउटा रगतको थोपो पनि चुहिँदैन, यो मेरो ग्यारेन्टी हो। कहीँ लडेर चुहियो भने अर्को कुरा हो। आन्दोलन गरेर, हानाहान गरेर जिन्दावाद र मुर्दावाद भन्नुपर्ने छैन मेरो ग्यारेन्टी भयो।’
आफ्नो स्वर केही चर्को भएको तर यसमा झर्को नमानिदिन उनले आग्रह गरे। राजनीतिमा केही काम नपाएर र भएभरका काम छाडेर आउनेगरी दुईथरि मानिस हुने बताउँदै उनले आफूहरू प्रतिबद्ध भएर भएभरका काम छाडेर आएको दाबी गरे। ‘स्वर चर्को छ, यसमा झर्को नमानिदिनुहोला। मात्रै भोट परिवर्तन गरिदिनुहोला है भन्न आइरहन्छौँ,’ उनले भने, ‘तपाईंले दु:ख पाइरहनुभएको छ। राजनीतिमा दुइथरिका मान्छे छन्। एउटा काम केही पनि नपाएर राजनीतिमा आएका, हामी भएभरका सबै काम छाडेर आएका छौँ। हामीलाई अवसर दिनुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।