काठमाडौं- संखुवासभा जिल्ला कारागारमा मृत्यु भएका दुई जना कैदीको शव परिवारले बुझ्न मानेका छैनन्। प्रहरीको कुटाइबाट कैदीको मृत्यु भएको आरोप लगाउँदै उनीहरुले शव बुझ्न नमानेका हुन्।
कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। उनीहरुको मृत्यु उपचारका क्रममा भएको प्रहरीले बताएको छ।
कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको प्रहरीले बताएको छ। कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवै जनालाई कुटपिट गरेको बताउँदै आएका छन्।
प्रहरी विरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ। कैदीको मृत्युपछि कारागारको अन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइके सहितका ९ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए।
जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो। दुवै जना एक वर्षदेखि यहाँको कारागारमा थिए ।
छानबिन समिति गठन
जिल्ला कारागारमा बुधबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।