काठमाडौं- शनिबार पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको जिल्ला तथा सत्र अदालतले तोशाखाना मुद्दामा दोषी ठहर गर्दै ३ वर्षको कैदसहित १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। अदालतको फैसलापछि उनलाई लाहोरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। तर २०२२ अप्रिलमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी अपदस्त भएका थिए। कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए।
अप्रिल २०२२ मा पदबाट हटाइएपछि खानविरुद्ध १०० भन्दा बढी उजुरी परेका थिए। खानले भने ती सबै आरोप अस्वीकार गर्दै राजनीतिकरण गरिएको बताउँदै आएका छन्। शनिबार अदालतले उनीविरुद्धका सयौँ अभियोगमध्ये तोशाखाना मुद्दामा दोषी ठहर गरेको हो।
के हो तोशाखाना?
तोशाखाना फारसी भाषाको शब्द हो। यसको अर्थ हुन्छ खजाना कोठा। मुगल शासनकालमा शाही मानिसहरूबाट प्राप्त उपहारहरू राख्नका लागि तोशाखाना प्रयोग गरिन्थ्यो।
यो व्यवस्था भारतमा स्वतन्त्रता पछि पनि जारी रह्यो। यसमा विदेशबाट आएका सरकारी अधिकारीहरूले प्राप्त गर्ने उपहारहरू राखिन्छ। सरकारी अधिकारीलाई विदेशबाट प्राप्त हुने बहुमूल्य उपहार तोशाखानामा राख्नुपर्छ।
तोशाखानामा विदेशबाट प्राप्त उपहार ३० दिनभित्र राखिसक्नुपर्छ। भारतमा यसको जिम्मेवारी परराष्ट्र मन्त्रालयले सम्हाल्छ।
भारत-पाक विभाजनको २७ वर्षपछि पाकिस्तानमा तोशाखाना स्थापना भएको थियो। जसलाई क्याबिनेट डिभिजनको नियन्त्रणमा राखिएको छ। तोशाखानामा पाकिस्तानका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रिपरिषद्का मन्त्रीहरू तथा सरकारी अधिकारीहरूले विदेश भ्रमणमा प्राप्त उपहारहरू राख्नुपर्छ।
तर खानले २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री हुँदा त्यो अवधिमा विदेशबाट प्राप्त अधिकार तोशाखानामा नराखेको आरोप उनीमाथि लागेको थियो। सोही मुद्दामा पाकिस्तानको सरकारले खानलाई पटक पटक गिरफ्तार गर्ने प्रयास गरेको थियो। तर समर्थकको भिडका कारण उनी गिरफ्तारीबाट जोगिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।