काठमाडौं- एक क्वीन्टल सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाउने भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित, गृहमन्त्री, आईजी, सीआईबी प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख सहितको बैठकमा सीआईबीलाई दिनेबारे छलफल भएको थियो। उक्त छलफलमा उपस्थित एक अधिकारीले सीआईबीलाई दिनेभन्ने विषय टुंग्याइएको बताए। तर सीआईबी स्रोतका अनुसार भने अहिलेसम्म अनुसन्धानका लागि भनेर सीआईबीमा पत्र पुगेको छैन।
साउन २ गते राजश्वको टोलीले करिब १ क्वीन्टल सुन बरामद गरेको थियो। अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ-काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो।
जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो। बरामद भएको उक्त सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।