काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी मञ्जु रावलको हत्या आरोपमा प्रहरीले आफन्तसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा–४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका– ६ तोली बस्ने ३७ वर्षीया सरिता रावल छन्।
मञ्जुका छोरा विवेकले गत जेठ २५ गतेदेखि आफ्नी आमा सम्पर्कविहीन रहेको भन्दै प्रहरीमा खबर गरेका थिए। वकिललाई भेट्न मसुरीया जान्छु भनेर घरबाट निस्किएकी आमा मञ्जुको सोही दिनदेखि मोबाइल समेत स्वीच अफ भएको र सम्पर्कमा नरहेको भन्दै विवेकले असार १ गते इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए।
विवेकले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा आफन्त पर्ने गोमा र मञ्जुबीच लामो समयदेखि अंशसम्बन्धी विवाद रहेको पाइएको थियो। थप अनुसन्धान गर्दा अंशसम्बन्धी विवाद भएको जग्गालाई लिएर उनीहरुले मञ्जुको हत्या गरेको खुलेको थियो।
गोमाले दिएको बयानका आधारमा प्रहरीले वर्षा, भरत र सरितालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकी सरिताले मञ्जुको हत्या गरी मोहन्याल गाउँपालिका-५ को बाँसघारीमा ढुङ्गाले च्यापेर शव गाडेको बयान दिएकी थिइन्।
सरिताले दिएको बयानअनुसार खोजी गर्दा उनले भनकै स्थान मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलामा मञ्जुको शव फेला परेको थियो।
मञ्जुको शव ढुङ्गाले च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको हड्डी (कंकालहरु) टुक्रा-टुक्रा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। हड्डीमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट विवेकले आमा मञ्जुको सनाखत गरेका थिए।
पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य गरी ज्यान मारेको अभियोगमा थप अनुसन्धान अगाडि बढाइएको डीएसपी चन्दले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।