तपाईं अँध्यारो खोंचमा हराउनुभएको छ। आफूले सार्ने एक पाइलाभन्दा पर के छ? पत्तो छैन। आफ्नै छेउबाट हिँडिरहेको अपरिचितबारे अञ्जान हुनुहुन्छ। कानमा सङ्गीन ध्वनि ठोकिइरहेको छ। आँखामा त्रासद् अन्धकार फैलिरहेको छ।
यस्तोबेला तपाईं के गर्नुहुन्छ?
अफ्ठ्यारोमा फसिरहेको मानिस अफ्ठ्यारोसँग सामना गर्न चाहन्छ। सायद तपाईं सामनाको निम्ति तयार रहनुहुन्छ होला।
अँध्यारोले वरिपरी पर्खाल विछ्याइरहेको क्षण पटक–पटक मैले आफैंलाई सोधेँ, ‘अब के गर्ने?’
जोडले चिच्याऊँझैं लाग्यो। वरिपरी जो थिए, उनीहरू पनि त चुपचाप थिए। सोचेँ, ‘यतिबेला मेरो आवाज निरर्थक हुनेछ।’
थकानले चुर भएको थिएँ। थप हिँड्ने सामर्थ्य थिएन। म एकटक उभिएर बसेँ।
भर्खरै मेरो छेवैबाट एकजना अपरिचित गयो। ऊ हातका औंलाहरूले छामछुम गर्दै बाटो पहिल्याउने प्रयत्नमा थियो। उसका हातले अचानक मेरा कुमनिर स्पर्श गर्यो । झट्ट मेरो कुमबाट उसले हात हटायो। अनि ऊ विस्तारै पाइला सार्दै अघि लाग्यो।
ऊ हिँड्दा पैतालामुनिबाट ‘सर्याकसर्याक’ आवाज आइरहेको थियो। यसरी थुप्रै पाइतालाहरूले टेकेका आवाजका ध्वनि बढिरहेका थिए। मैले महसुस गरेँ, वरिपरी अरु पनि हिँडिरहेका छन्।
तर म आफूलाई एक्लो अनुभूत गरिरहेको थिएँ। जीवनमा यस्ता अनुभूतिहरू कहीँ–कतै भइरहने गर्छन्।
जमिनमा के स्पर्श गरिरहेको छु, थाहा छैन। तर त्यो स्पर्श अद्भूत किसिमको थियो। हिँड्ने सामर्थ्य बटुल्छु, तर हिँड्न सजिलो कहाँ छ र? जतिसुकै तेज गतिको मानिस पनि यो दलदलमा आफ्नो लयमा हिँड्न पाउँदैन। गतिलाई जमिनको गुरुत्वाकार्षणले तानिरहेझैंलाग्छ।
कहाँ हिँडेको हुँ, थाहा छैन।
कहाँ पुग्दैछु, थाहा छैन।
तर मलाई हिँड्नुछ। कहीँ न कहीँ त पुग्नु छ।
आँखामा उज्यालो छेक्ने चस्मा बाहिरबाटै कसैले लगाइदिएको छ। त्यसपछि डोहोर्याएर अँध्यारो ‘ओडार’मा छोडिदिएझैं लाग्छ। म वरिपरीका थुप्रै मानिसँग ठोकिन्छु। अतालिन्छु। अघिसम्मका आफ्नै साथीहरू अब आपसमा अपरिचित बनिसकेका छन्। अब हामी अर्कै लोकको अञ्जान यात्रामा छौँ।
जब आँखाले केही ठम्याउँदैन, आवाज र स्पर्शलाई बढी अनुभूत गरिने रहेछ। कसैले अगाडि घंचेडीदिएपछि म आवाज र स्पर्शको सहारामा यात्रा गर्न थालेँ। लागेको थियो, ‘खाली मैदानमा छु। जता गए पनि बाटाहरू छन्।’
केही पाइला हिँड्नासाथ बाटोहरू साँघुरिएको महसुस गरेँ। हातले भित्ताहरू छुन पुगे। त्यसपछि अर्को बाटोको खोजीमा। कुनै सुरुङभित्र जबर्जस्ती पसिरहेछुझैं अनुभूत भइरहेको थियो।
एउटा क्षण, मैले समाइरहेको भित्ताले मलाई हुत्याइदियो। रनभुल्ल परेँ। केहीबेरपछि मलाई हुत्याउने भित्ता पुन: छाम्न तम्सिएँ। तर त्यतिबेला त्यहाँ भित्ता गायव थियो।
चकित हुँदै म त्यो भित्ता खोज्न थालेँ। केही पाइला अघि बढेँ। भित्ता भेटिनँ। नभेटेपछि फर्कन खोज्दै मात्र थिएँ, म त थुनिइसकेछु। फर्कने बाटोमा पर्खाल उभिइसकेछ।
बाटो खोज्दा खोज्दै पुन: गलेँ। म टुक्रुक्क बस्न खोजेँ। मलाई कसैले कुममा समाउँदै उठायो। मैले बुझें, यहाँ बस्न पनि निषेध छ। निधारको पसिना पुछेँ। त्यसपछि हातले अगाडिको पर्खाल छाम्न खोजें। अघि मलाई अल्झाउने पर्खाल त्यहाँबाट हटिसकेको थियो। केही पाइला घस्रिएपछि नाकले मीठो खुस्बुको स्पर्श गर्यो।
आहा! त्यो खुस्बु कसले छर्कियो, थाहा छैन। तर मलाई त्यो सुगन्धले आह्लादित बनायो। त्यतिनै बेला पहिलो पटक मेरो आँखामा एक चिम्टी उम्यालो पर्यो। केही पाइला पर सूर्याकारको गोलो वस्तु चहकिलो देखिइरहेको थियो। त्यो उज्यालो देख्नासाथ म रोमाञ्चित बनेँ। तर त्यहाँ पुग्न पाइलाहरूलाई कुनै पर्खालले रोकिदिन पनि सक्थ्यो।
त्यतिबेला केहीले पनि रोकेन।
मैले त्यो उज्यालो फैलाइरहने वस्तुलाई स्पर्श गर्न खोजेँ। मभन्दा अघि एउटा हातले त्यो वस्तु सुम्सुम्याइँरहेको देखेँ। अरु औंलाहरू पनि देखिए, जो डराइ डराइ त्यसलाई छोइरहेछन्। जलिरहेको दियोमा पुतली झुम्मिएजसरी उज्यालोनिर मानिसहरू झुम्मिरहेको देखेँ।
म स्पर्श गर्न खोज्दै मात्र के थिएँ, कोही अपरिचितले त्यसलाई छेकिदियो। अब आँखाबाट उज्यालो खोसियो।
त्यतिबेला एउटा कुरा अनुभूत गरेँ, ‘मान्छे नै मान्छेको सपनाको पर्खाल छ, मान्छे नै मान्छेको खुसीको पर्खाल छ।’
अब भने मलाई यो चक्रब्यूहबाट निस्कनुपर्छ भन्ने लाग्न लाथ्यो। तर कसरी?
जताततै पर्खालै पर्खाल, अफ्ठ्यारै अफ्ठ्यारो। सुरुको रोमाञ्चकता यतिबेलासम्म संघर्षमा रुपान्तरण भइसकेको थियो। मलाई कुनै निर्जन ठाउँबाट घर फर्कन प्रयत्न गरिररहेको पात्र चक नोलेन (टम ह्याङ्क्स) को सम्झना आयो।
हलिउड फिल्म ‘कास्ट अवे’मा हवाइजहाज दुर्घटनाबाट बाँचेको एक पात्र ब्यूँझदा एक टापूमा भेटिन्छ। टापूको दूर दूरसम्म कोही हुन्न। त्यहाँबाट कोसौँ परसम्म समुद्र फैलिएको हुन्छ। त्यो निर्जन टापूबाट घर फर्कन उसले ४ वर्षसम्म निरन्तर संघर्ष गर्छ।
नोलेन सम्झनासाथ टक्क रोकिएँ। लामो श्वास लिएँ। आफूभित्र भइरहेको श्वासप्रश्वास अनुभूत गरेँ। पुन: सामर्थ्य बटुलेजस्तो भयो। जोडले जमिनमा पाइताला बजारेँ। अब हिँड्छु भनेर हातले हावामा सुम्सुम्याउँदै थिए, कसैले मेरो पाखुरामा समातेको अनुभव भयो।
मैले पहिरिएको ज्याकेट खोलिदियो। जुन अघि कुनै अपरिचित मान्छेले डोहोर्याएर ल्याउने बेला लगाइदिएको थियो। त्यसपछि उसैगरी डोहोर्याएर केही पाइला पर पुर्यायो। अनि आँखामा लगाइदिएको कालो चस्मा खोलिदियो।
उडिरहेको धुवाँलाई छिचोल्दै मैले साथीहरू देखेँ। उनीहरू एकापसलाई अनौठो नजरले हेरिरहेका थिए, मानौँ वर्षौंपछि पो भेटिएका छौँ। केहीबेरमा हामी मुस्कुराउँदै कुरा गर्न थाल्यौँ।
०००
गत बुधबार दिउँसो मण्डला थिएटरमा निर्देशक रामहरि ढकालले निर्माण गरेको नाटक ‘चक्र’को घेरोमा १ घण्टा हरायौँ। यो किसिमको नाटकलाई संवेदी रंगमञ्च भनिन्छ। जहाँबाट हामीले जीवन र संघर्षलाई नजिकबाट नियाल्ने प्रयत्न गर्छौँ। यस प्रकियालाई आत्मबोध कला भनिँदो रहेछ।
यो प्रक्रियामा सहभागी भएर फर्कनेबेला हामी मण्डलाको छतमा गए बस्यौँ। छतबाट बाहिरी दुनियाँ नियाल्दा आनन्दानुभूति मिल्यो। आकाश पर परसम्म फैलिएको थियो। चराहरू उन्मुक्त उडान भरिरहेका थिए।
त्यसपछि केही साथीहरूले आफ्नो अनुभव सुनाए। रमाइलो त, कतिपय अनुभूति समान भएछन्।
रामहरिले निर्देशन गरेका संवेदी स्थापना कलासँग म दोस्रो पटक साक्षात्कार भएँ। अघिल्लो वर्ष मण्डलामै मञ्चन गरिएको नाटक ‘भित्र बाहिर-४’को पनि मैले अनुभूति गर्न पाएको थिएँ। त्यतिबेला भने मैले युद्धको त्रासदीलाई महसुस गरेको थिएँ। उनले यो नाटक तयार पार्नुअघि रोल्पाको थवाङ्ग गाउँमा १० दिन बिताएका थिए। द्वन्द्व भोगेकाहरूसँग संवाद गरेका थिए। नर्वेमा द्वन्द्वको प्रभाव परेकाहरूको सुस्केरा सुनेका थिए।
‘चक्र’को बीउ भने गोसाइकुण्डको उकालो चढ्दै गर्दा रामहरिको मस्तिष्कमा रोपिएको रहेछ। ‘कठिनाइको यात्रा दु:ख सहेर पनि मानिसहरू पूरा गर्न हिँड्छन्। गोसाइकुण्ड जाँदा पनि मानिसहरूले त्यतिका असहजता व्यहोरिरहेका छन्। तर सबैको उद्देश्य फरक फरक छ। मैले जीवन र संघर्षलाई गहिरो गरी हेरेँ,’रामहरी भन्छन्।
त्यहाँबाट फर्किएपछि उनले आफ्नै जीवनको उतारचढावलाई फर्किएर हेरे। साथीहरूको संघर्ष नियाले। बालबालिकादेखि वृद्धसम्मको मनोविज्ञान जान्नु थियो। उनले मनोविश्लेषकसँग पनि संवाद गरे।
मानिसलाई मनले जिउन सिकाउनु छ, क्षमतामा जिउन सिकाउनु छ, विवेकले जिउन सिकाउनु छ। त्यसपछि उनले यो नाटक तयार गरे।
नाटकमा बिताएको १ घण्टाले जीवनको उतारचढावलाई महसुस गराउँछ। अँधेरामा ठोकिने निर्जीव पात्रहरूले आफैँसँग संवाद गर्न सिकाउँछन्। मानसिक तनाबबाट गुज्रिरहेको मानिसलाई यो अँध्यारोको यात्राले जीवनको उज्यालोतर्फ डोहोर्याउँछ।
साउन १४ गतेसम्म मण्डलामा रामहरिको ‘चक्र’ले हरेकदिन (सोमबार बाहेक) फन्को मारिरहेको हुन्छ। के तपाईं निराश हुनुहुन्छ? त्यो ‘चक्र’को यात्रामा सहभागी भएर फर्कँनु भयो भने पक्कै सोच्नुहुनेछ, ‘जीवन कठिन मात्र हैन, सुन्दर पनि छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।