काठमाडौं– काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको हो।
तर्साउनका लागि उक्त वस्तु राखिएको पाइएको छ। सिनामंगलको पुल नजिक रहेको खोटाङ हलेसी सुन चाँदी पसल अगाडि बम जस्तो शंकास्पद वस्तु राखिएको थियो। सुन चाँदी गहना पसल सञ्चालक मने विश्वकर्मासँग रकम असुल्ने उदेश्यले बम जस्तो वस्तु राखिएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ समेत गरेको छ।
पक्राउ पर्नेमा रौतहट घर भएका २८ वर्षीय खजाञ्ची पासवान रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए।
पासवानले ५ लाख रुपैयाँ माग गरेका थिए। रकम नदिएपछि धम्क्याएर रकम असुल्ने उदेश्यले बम जस्तो वस्तु राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको थियो। पर्चामा ‘हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सहयोग गर्नुस्’ भनेर उल्लेख गरिएको थियो। ‘संयोजक सफल’ भनेर पर्चामा लेखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।