काठमाडौं- बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर कायम गर्दा बैंकहरुले स्वतन्त्र रुपमा तोक्ने भनेपछि निक्षेपमा बैंकहरुको ब्याजदर सार्वजनिक भएको छ। त्यसअघि बैंकर्स संघमार्फत साझा ब्याजदर कायम हुने गर्थ्यो।
नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर निर्धारण गर्दा हुने भद्र सहमति खारेज गरेको थियो। भद्र सहमतपछि बैंकहरुले पहिलो पटक ब्याजदर आफैं तय गरेका हुन्। नेपाल राष्ट्र बैंकले निक्षेपमा ब्याजदर कायम गर्दा बजार औसतमा १० प्रतिशतले घट–बढ गर्न बैंकहरुलाई निर्देशन दिएको छ।
बैंकहरुले नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनका लागि ब्याजदर तय गरेका हुन्। असार महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज सहमतिमा कायम गरेका थिए।
तर, बैंकहरु आफ्नो भद्र सहमतिबाट पछि हट्ने सहमति गरेपछि बैंकहरुले निक्षेपमा ब्याजदर निर्धारण गर्दा केही बैंकले घटाएका छन् भने केहिले बढाएका छन्।
ब्याजदर बढाउनेमा एनएमबी, प्राइम कमर्सियल, एनआईसी एसिया र नबिल बैंक रहेका छन्। उक्त बैंकले समयावधिअनुसार निक्षेपको ब्याजदर फरकफरक कायम गरेका छन्। प्राइम कमर्सियल बैंकले मुद्दति निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने बताएको छ।
एनएमबी बैंकले भने १० वर्ष माथिको मुद्दती निक्षेपमा १०.९८ प्रतिशत र त्यो भन्दा कम अवधिको मुद्दती निक्षेपमा एकल अङ्कको ब्याजदर दिने प्रस्ताव गरेको छ। नबिल बैंकले भने २ वर्षभन्दा माथिको निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ। त्यो तल भने एकल अङ्कमा ब्याजदर दिनेछ।
कुमारी, ग्लोबल आईएमई, लक्ष्मी–सनराइज, नेपाल एसबीआई, हिमालयन र सिटिजन्स बैंक लगायत ६ वटा बैंकले भने मौजुदा ब्याजदरलाई नै निरन्तरता दिने भएका छन्। अहिले ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन्। उपरोक्त बैंकहरुमध्ये सिटिजन्स बैंक बाहेक अन्य बैंकले भने छोटो अवधिको मुद्धति निक्षेपमा ब्याजदर घटाएको छ।
सबैभन्दा धेरै ब्याजदर घटाउनेमा स्टायन्डर्ड चार्टर्ड बैंक रहेको छ। उसले १० प्रतिशतले नै घटाएर ८ दशमलव ९५ प्रतिशत तय गरेको छ। व्यक्तिगत निक्षेप र संस्थागत निक्षेपमा फरक ब्याजदर कायम गर्ने प्रवाधान रहेको छ। व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले संस्थागत ब्याजदर कम हुने प्रवाधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।