पोखरा– विद्यालयमा छुट्टीको घन्टी बज्यो। पाँच वर्षीया दिया केसीले ६ मा पढ्ने दिदी पुष्पा केसीलाई पर्खिइन्। छुट्टी भएपछि पुष्पा आइन्। दिदीको हात समाएर दिया बस चढिन्। बसले आफ्नै गति पक्रियो। आ–आफ्नो घर आइपुगेपछि बसबाट विद्यार्थी उत्रन थाले।
१३ वर्षीय पुष्पा केसी सँधै ओर्लने स्थानमा ओर्लिइनन् । अर्कै स्थानमा झरिन्। दियालाई भनिन्, ‘म टमाटर किनेर ल्याउँछु। त घर जा।’ विद्यालयको बसका सहचालकले बस रोके। पुष्पा घर पुग्नुभन्दा २ सय मिटर अथाडि नै ओर्लिइन् । र, सरासर घर जाने बाटोभन्दा फरक दिशामा बजारतर्फ लागिन्।
बहिनी दियालाई अरु कुरा थाहा भएन। तर दिदी कहिल्यै नफर्किने बाटोमा लागिन्। तर दियालाई त्यही दिनको सम्झना आइरहन्छ। त्यो दिन सम्झिँदै भन्छिन्, ‘टमाटर लिन जान्छु भनेर तल बाँसघारी भएको बाटोतिर जानु भो’। ‘दिदी किन गइन्?’ उनीसँग भएको प्रश्न भने पनि उत्तर पनि यति मात्रै हो।

पुष्पाकी बहिनी दिया केसी
बुधबार पत्रकारहरूको टोली पुष्पा केसीको घर पुग्दा घरभरी सन्नाटा छाएको थियो। सबैको अनुहारले पुष्पा केसीलाई नै खोजी गरेको कुराका बुझ्न कुनै गाह्राे थिएन। घरको काम भर्खरै सघाउन थालेकी थिइन् पुष्पाले।
छोराछोरीको वियोग मातापिताका लागि सर्वाधिक असह्य पीडा हो। ठूली भइसकेकी छोरीको वियोगमा परिवार तथा छरछिमेकमा दुःखको हुण्डरी मात्र चलेको महसुस गर्न गाह्रो थिएन।
बिहान विद्यालय गएकी छोरी कहिल्यै फर्किइनन्। आधा बाटोबाटै हराइन् पुष्पा। परिवारदेखि प्रहरी प्रशासनसम्मले पुष्पा केसीको खोजी गर्न थाल्यो। सबैलाई लागेको थियो ‘पुष्पा सकुशल फेला पर्छिन्’। तर विडम्बना। आर्तहरूलाई समेत सयमले कहिलेकाही साथ दिँदैन। सबैको आशा, अपेक्षा र सोचाई उल्टो परिदियो। भोलिपल्ट छोरीको शवमात्रै फेला पर्यो।
छोरीको मृत्युले यसै त पीडाको सीमाना छैन। यसैमाथि पीडा थपिदिएको छ सञ्चारमाध्यममा आएका समाचारले। छोरीको मृत्युपछि पनि समाचारमा आएका कतिपय विषयले पुष्पामाथि थप अन्याय भएको र परिवारको पीडाको आगोमा घिउ थपिदिएको छ। ‘सुस्त मनस्थिति भएकी पुष्पा’ भनेर लेखिदिए कतिपय सञ्चारमाध्यममले।
‘१३ वर्षको छोरी ६ कक्षामा पढ्थिन्। धेरैजसो बालबालिकाले १३ वर्षको उमेरमा ८ कक्षा सम्म पुग्छन्। यही आधारमा कपिपय संचारमाध्यमले पुष्पालाई सुस्तमनस्थितिको बिल्ला भिराइदिए । ‘मृतकमाथि पनि अन्यायको सीमा त होला नि! एकै पटक १ कक्षामा भर्ना हुन मिल्ने सरकारी विद्यालय पढेकी होइन। बोर्डिङ स्कुल पढेकी हो। नर्सरी, एलकेजी, युकेजी सबै कक्षा पढ्नु पर्यो। कसरी सुस्तमनस्थिति कि हुन्छे हाम्रो छोरी? यस्ता मनगढन्ते आधारमा कसैलाई सुस्तमनस्थिति भएको भन्न पाइन्छ?’ पुष्पाका बुबा राजन केसी आक्रोसित भए। ‘हो, उनको दृष्टि सामान्य मानिसभन्दा केही कमजोर थियो। तर, आँखा कमजोर भएकै आधारमा सुस्त–मनस्थिति भएकी भन्ने?’
‘छोरीलाई टमाटर लिएर आऊ’ भनेर पनि नभनेको र छोरीलाई अरु कसैले नै बहकाएको बुबा केसीले बताए।
‘पुष्पा नाच्न सिपालु थिइन्। उनको रहर पनि नाच्नु नै थियो। अघिल्लो मंगलबार पनि नाच्ने भनेरै स्कुलबाट ढिलो गरी घर आइन्’ मलीन मुहार भएका राजन् छोरीको वियोगले मौलाएका थिए। रोदन र आक्रोशले रन्थनिने मन चाहेर पनि सम्हाल्न सक्दैनन् राजन्।
‘मंगलबार साढे ४ बजे घर आइपुग्नु पर्नेमा साढे छ बजे आएकी थिई। स्कुलमा समूह बनाएर नाच सिक्दै थिई,’ मधुरो स्वरमा उनले सुनाए। मंगलबार ढिलो घर आइपुग्दा झोला बहिनी दियालाई दिएर पठाएकी थिइन्। स्कुलमा नाच्दैछु भनेर पुष्पाले घरमा भने पनि स्कुलले त्यसको रिपोर्ट परिवारलाई नदिएको उनको भनाई छ।
‘स्कुलले कम्तिमा जिम्मेवारी लिइदिनुपर्यो। हामी उसको नेतृत्वमा हिड्न तयार छौं,’ राजन भन्छन्, ‘स्कुल बसको समेत व्यवस्था गरिएकाले स्कुलदेखि घर नआइपुग्दासम्म बाटोमा भैपरी आउने सबै घटनाको जिम्मेवार स्कुल हुन्छ’। विद्यालयले जिम्मेवारी ग्रहण गरेर अनुसन्धानलाई सघाउनुको साटो पन्छिरहेको उनको आरोप छ।
राजन गण्डकी बोर्डिङ स्कुलका सुरक्षा गार्डसमेत हुन्। कुनै पनि विद्यालयले विद्यार्थीलाई बाटोेबाटो मै नछोड्ने र छोड्नै परे त्यसको रिपोर्ट परिवारलाई दिने गरेको आफ्नै अनुभव मिश्रित कुरा सुनाए उनले।
केसी परिवार छोरी पुष्पा गुम्नुमा स्कुलकै गल्ती भएको बताउँछ। काका ध्रुव केसी भन्छन्, ‘स्कुलको लापरबाहीले यस्तो घटना भएको हो। कम्तीमा पनि विद्यालयले कहाँ ओर्ली र कहाँ गई भन्ने जानकारी त दिन सक्नुपर्थ्यो।’ दिनभर अरु कसैसँग भेट नभएको र स्कुलकै विद्यार्थी तथा शिक्षकसँग मात्रै भएकाले प्रहरीले त्यतातर्फ ध्यानदिनुपर्ने उनको आग्रह छ।

पुष्पाका बुबा राजन केसी र ठूलाे बुबा याेगेन्द्र केसी
‘ऊ (पुष्पा) सँग मोबाइल पनि छैन। घरभन्दा बाहिर पनि खासै जान्नथी। यो सब योजना स्कुल एरियामै भएको हाम्रो ठम्याई छ,’ काका योगेन्द्र केसी भन्छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बलात्कार नभएको देखिएपनि ‘प्रयास चाहिँ’ भएको उनको आरोप छ।
पोखरा १९ लामाचौरकी पुष्पा केसी विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत थिइन्। उनी शुक्रबार साँझ मृत फेला परेकी थिइन्। उनको शव पोखरा १९ फापरतरोमा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्पाको छात्ती, टाउको र फोक्सोमा चोट लागेको देखाएको छ।
पुष्पाको शव अहिले पोखरा विज्ञान स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। घटनाको निष्पक्ष छानबिन नभएसम्म परिवारले शव नबुझ्ने अडान लिएका छन्। जिल्ला प्रहरी कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले घटनाको छानबिन भइरहेको बताए। ‘घटनाको विषयमा मौखिक तथा लिखित सोधपुछ पनि चलिरहेको छ। हामी थप अनुसन्धान जुटिरहेका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।