काठमाडौं– यातायात व्यवसायीको अटेरीपछि यातायात व्यवस्था विभागले पुनः विभिन्न नामका यातायात समितिलाई कम्पनी मोडलमा सवारी सञ्चालनको लागि पञ्जीकृत हुन सुचना प्रकाशित गरेको छ।
विभागले समितिका नाममा रहेका अधिकांश व्यवसायीहरु अझै पनि सवारी पञ्जीकरण गर्दै कम्पनी मोडलमा नआएपछि सूचना जारी गरेको हो।
मंसिर मसान्तसम्ममा सबै समितिलाई कम्पनी मोडलमा आउने आग्रह गर्दै विभागले सूचना गरेको छ। कम्पनी मोडलमा नआएको अवस्थामा मंसिर मसान्तपछि सवारी सञ्चालन रुट इजाजत नवीकरण नहुने, नयाँ रुटको इजाजत नपाउने र रुट हेरफर पनि नहुने विभागको सूचनामा उल्लेख छ।
विभागका अनुसार हाल देशभर ३ सय ५० भन्दा बढी विभिन्न नाममा यातायात समिति छन्। यसमा ५० वटाको हाराहारीमा मात्रै कम्पनी मोडलमा सवारी सञ्चालन गर्ने गरी पञ्जीकरण भएको विभागले जनाएको छ।
तर, विभागले आफ्नो वेबसाइटमा राखेको सूचनामा भने सबै प्रकारका गरी कुल ३ सय ३२ वटा यातायात कम्पनी दर्ता भइसकेको देखिन्छ।
यातायात व्यावसायी भने सरकारको केही निर्णय आउने भन्दै पर्खेर बसेका छन्। व्यवसायीले सडक अवस्था सुधारदेखि यात्रुको बीमा रकम बढाउनु पर्ने र सवारीको उमेर तोक्ने काम इन्जिन क्षमताको आधारमा हुनु पर्ने भन्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।