काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आएको महसुस भएमा आफू संसदीय दलको नेता बदल्न तयार रहेको बताएका छन्। शनिबार विराटनगर पुगेका कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरिसकेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु अस्वभाविक होइन,’ पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले भने, म त दलको नेतामा लडेको मान्छे हुँ। बदल्नुपर्छ भनेर लागेको हुँ। मेरो प्रयास निरन्तर रहन्छ। साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ।’
कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको बताउँदै उनले संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए। ‘गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्याएर नेता बनेका हुन्। यो सुविधा छ,’ उनले भने।
महामन्त्री थापाले पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरेका छन्। असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै उनले साउन २ गतेदेखि सुरु हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।