काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक शनिबार पनि बस्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालको शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठक भोलि आइतबारसम्म चल्नेछ।
बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ।
बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ। पार्टी परित्याग गरी गएका चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेताको पद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।