काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले मिटिरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाको अर्को बैठकमा पनि संसद्मा टेबुल नभए संसद् चल्न नदिने चेतावनी दिएको छ।
रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उक्त चेतावनी दिएका हुन्।
‘आगामी बैठकमा मिटिरब्याज पीडितहरुका लागि सरकारले ल्याउन खोजेको विधेयक कार्यसूचीमा राखिएन र ल्याएन भने रास्वपा सदन चल्न नदिने पक्षमा उभिने छ,’ सांसद लामिछानेले भने।
सांसद लामिछानेले प्रतिपक्षीको बेञ्चमा बसेको कारणले प्रतिपक्षीहरु यसको विपक्षमा छन् भन्ने भाष्य खोजियो भन्दै आपत्ति जनाएका छन्। उनले कसको कारणले मिटिरब्याज सम्बन्धी विधेयक संसद्मा टेबुल हुन नसकेको स्पष्ट पार्न पनि आग्रह गरेका छन्।
‘म यो सदनलाई आह्वान गर्न चाहन्छु, कार्यसूचीमा यो मिटरब्याज अध्यादेश अथवा मिटिरब्याज पीडितको विषय आज किन आएन? कसका कारणले रोकियो?,’ उनको प्रश्न छ।
लामिछानेले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताउँदै सदनमा उक्त विधेयक तत्काल ल्याएर फास्ट ट्र्याकबाट पारित गर्नुपर्ने बताएका छन्।
‘रास्वपा मिटरब्याज पीडितहरुको पक्षमा छ। सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्छु। हामी पीडितहरुको पक्षमा छौं,’ उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।