काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन्।
राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए। राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।
सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनहरूमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ। ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्।
प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदनापत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे। दाहालले सीताको निधन लगत्तै टेलिफोन गरी दुःख व्यक्त गर्ने क्रममा राष्ट्रपति र आफू दुवै भावविह्वल भएको पनि बताए। प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग सीताको सम्बन्ध दाजु र बहिनीको भएकाले पनि राष्ट्रपति पनि भावविह्वल भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।