काठमाडौं– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने दाबी गरेका छन्। बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
नयाँ आर्थिक वर्षबाट धुर्मुस–सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने र सोही अनुसार रंगशाला निर्माणको काम पनि अघि बढ्ने उनको भनाइ छ।
यसअघि नै सरकारले १२ करोड रुपैयाँ रंगशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिए पनि कानुनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रंगशाला निर्माणको कामले गति लिने उनको भनाइ छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भए पनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको उनले बताए। अहिलेको रंगशालाको समस्यालाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा रंगशाला निर्माणको कामले गति लिने उनले बताए।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कुरा छ, धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशाला, सुरु गर्ने बेलामा सबैले हाइहाइ गरे, तर पछि समस्या आयो। एउटा मान्छेले तीन, साढे तीन अर्बको रंगशाला बनाउँछ भनेर कसरी सकिन्छ। त्यो बेला नै हो सक्दैन भनेको भए हुने थियो,’ उनले भने, ‘हामीले हौसिएर ताली पिट्ने काम गर्यौं। मैले मन्त्रालयको तर्फबाट अहिलेको
यो समस्यालाई सकारात्मक रुपमा लिनेछु।’
धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको गौतमबुद्ध रंगशाला बनाउनका लागि नै खर्च गर्नुपर्ने अवस्था त्यहाँबाट गर्नुपर्ने उनले बताए। ‘क्याबिनेटबाट निर्णय भइसकेको पनि छ, यो ठिक कुरामा कुरा उठेको छ, हामीबाट खर्च गर्न नसकेर उता समर्पण भएको, सम्भवतः नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले
पाउँछ र काम अघि बढ्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।