राजविराज– एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको बलात्कार र महिला हिंसाका घटनाका दोषीलाई फाँसी वा सो सरहको सजाय हुनुपर्ने भन्दै पछिल्लो समय मुलुकभर दबाब सिर्जना भइरहेको छ। फितलो अनुसन्धान र न्याय प्रणालीमा देखिएका त्रुटिले बलात्कारीहरु उम्कने र तिनै व्यक्तिले थप घटना गराउने गरेको भन्दै प्रहरी र न्यायालयप्रति पनि सर्वसाधारणले आरोप लगाइरहेका छन्। तर, प्रहरी प्रशासनको क्रियाकलापमा भने अहिले पनि सुधार देखिएको छैन।
सप्तरीमा करिब डेढ महिनाअघि आफ्नै काकाद्वारा बलात्कारको सिकार भएकी ६ वर्षीया बालिकाले अहिले पनि न्याय पाएकी छैनन्। आरोपी कञ्चनरुप नगरपालिका ४ का गजेन्द्र साह सोनार पक्राउ नपर्दा स्थानीय सशंकित छन्। पीडित बालिकाका परिवारकै असहयोगका कारण प्रहरीले पनि आरोपीलाई पक्राउ गर्न चासो नदेखाएको स्थानीयको आरोप छ।
‘मुद्दा दर्ता गर्ने र स्वास्थ्य परीक्षण गर्नेसम्मका काम प्रहरीले सक्रियतापूर्वक गर्यो,’ स्थानीय महिला अधिकारकर्मी सविता न्यौपाने भन्छिन, ‘तर घटना भएको डेढ महिना पुग्न लाग्यो, संलग्नलाई पक्राउ गरिएको छैन।’
बालिकाका बाबुले नै भाइलाई भगाउने भूमिका निर्वाह गरिरहेका कारण बालिकालाई न्याय दिलाउन कठिन भएको स्थानीयको भनाइ छ। बालिकाकी आमा शारीरिक रुपमा अशक्त भएको फाइदा उठाएर ‘प्रहरीसँग कुरा गरे घरबाट निकालिदिने’ धम्की दिँदै घटनालाई ढाकछोप गर्न परिवारकै सदस्य लागिपरेको उनीहरुको आरोप छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर प्रतीक विष्टले भने प्रहरीले संलग्नको खोजी गरिरहेको र कुनै पनि सर्तमा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
यस्तो थियो घटना
कञ्चनरुप नगरपालिका–४ का २५ वर्षीय गजेन्द्र साह सोनारले ६ वर्षीया भतिजी (दाजुकी छोरी) बलात्कार गरेको घटना साउन ३ गते सार्वजनिक भयो। एक महिनादेखि काकाले आफूलाई लगातार बलात्कार गरेको बालिकाले आमालाई बताएपछि मात्र घटना बाहिरिएको हो।
स्थानीयवासीको सहयोगमा घटना इलाका प्रहरी कार्यालयसम्म पुग्यो। व्यापार/व्यवसाय गर्ने बाबु–आमा स्थानीय कञ्चनपुर बजारमा गएको समय पारी उनले बालिकालाई बलात्कार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुल्यो।
सोही अनुसन्धानका आधारमा गजेन्द्रविरुद्ध साउन ५ गत मुद्दा पनि दर्ता भएको छ। तर, आरोपित गजेन्द्र फरार छन्। पीडकलाई पक्राउ गरी कारबाही गर्न र बालिकालाई न्याय दिलाउन पटकपटक गरिएको आग्रहलाई प्रहरीले चासो नदिएको स्थानीय बताउँछन्।
एक महिनामै ३ बलात्कार, वर्षमा ३६
सप्तरीमा बलात्कार र बलात्कार प्रयासका घटना बढ्दो रुपमा छन्।
चालु आर्थिक वर्षको एक महिनाभित्रै ३ वटा बलात्कार र २ वटा बलात्कार उद्योगका घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीकी इन्सपेक्टर सुजाता तुम्बाहाम्फेले बताइन्।
आव २०७४/७५ मा सप्तरीमा ३६ वटा बलात्कार र १७ वटा बलात्कार उद्योगका घटना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।