काठमाडौं– काठमाडौं महानगरपालिकाले कक्षा ११ मा संस्थागत विद्यालयमा पढ्न चाहने विद्याथीहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको छ। महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भइ छात्रवृत्तिमा विज्ञान, व्यवस्थापन, मानवीकी, कानुन र प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको शिक्षा विभागले एक सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिका भित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न परीक्षा सञ्चालन हुने जनाएको हो। परीक्षाका लागि असार २८ गते बिहान १० बजेदेखि श्रावण १२ गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइटमार्फत् अनलाइन आवेदन फाराम पेस गर्न आह्वान गरेको हो।

आवेदन फारम भर्नका लागि निश्चित मापदण्ड समेत तोकिएको जनाएको छ। जसअन्तर्गत एसइईमा न्यूनतम १.६ जीपीए ल्याएको, सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको, संस्थागत विद्यालयमा १० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरी एसइई पूरा गरेको, ल्याण्डफिल साइटबाट प्रत्यक्ष प्रभावित क्षेत्र ककनी गाउँपालिकाको वडा नम्बर १, २, ३ र धुनिवेशी गाउँपालिकाका वडा नम्बर १, ३, ४ का स्थायी बासिन्दालाई विशेष प्राथमिकतामा राखिएको छ।
उम्मेदवारले एकभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेस गर्न नपाउने महानगरपालिकाले जनाएको छ। पेस गरेका विवरणहरू झुटो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निस्कासन गरिने उल्लेख समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।