काठमाडौं- नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि ६ महिनासम्म सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवातमा साउन १ गते देशभर वृक्षरोपण कार्यक्रम सञ्चालन हुने नेसपाले जानकारी दिएको छ। वृक्षरोपणसँगै जिल्लाजिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ। मंगलबार बसेको बैठकले यस्तो कार्यक्रम तय गरेको हो।
अभियानको सुरु चरणमा प्रदेशस्तरीय प्रशिक्षण बैठक हुने बताइएको छ। जसमा कोशीमा साउन १५ गते, मधेसमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ।
त्यस्तै बैठकले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशहरुमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरुलाई अभियानको नेतृत्वमा चयन पनि गरेको छ। जसअनुसार कोशी प्रदेशमा हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गंगा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ।
त्यसैगरी अभियानको प्रभावकारिता अनुगमन गर्न अनुगमन समिति पनि बनाइएको छ। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।