काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार)देखि सुरु हुँदैछ। विधानत: २–२ महिनाको अन्तरमा बस्नुपर्ने केन्द्रीय समितिको बैठक यसपटक भने १ वर्षपछि बस्न लागेको हो।
केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित शीर्ष नेताहरुको बैठक बोलाएका छन्। पदाधिकारी तथा शीर्ष नेताहरुको बैठक देउवा निवास धुम्बारीमा, बिहान ९ बजे बस्दै छ।
कांग्रेसका केही नेताहरुले केन्द्रीय समितिको बैठकमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको निलम्बनको विषयलाई उठाउने तयारी गरेका छन्। ‘यसअघि पक्राउ परेका बेला नै निलम्बनको विषय उठेको थियो। त्यतिबेला अदालतले थुनछेक आदेशमै रिहा गरिदिन्छ भन्ने कुरा पनि आयो। अहिले पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिलाई पार्टीको जिम्मेवारीमा राखिरहनु उचित हुँदैन। निलम्बन गर्नुपर्छ भनेर कुरा उठाउने तयारी छ,’ कांग्रेसका १ जना केन्द्रीय सदस्यले भने।
विशेष गरी संस्थापन (सभापति देउवा) इतर पक्षका नेताहरुले खाणको निलम्बनको विषयलाई उठाउने तयारी गरेका छन्।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर ठगी गर्ने गिरोहलाई सघाएको अभियोगसहितको मुद्दाको पुर्पक्षका लागि खाण अहिले थुनामा छन्। खाण पक्राउ परेलगत्तै कांग्रेसभित्र उनलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो। तर सभापति देउवाको अडानका कारण यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट कुनै निर्णय हुने सकेन।
कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ। यसअघि कांग्रेस केन्द्रीय समितिको बैठक गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।