काठमाडौं– सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यसैगरी बैठकले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ। सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ। वरीयताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताइन्।
उनले भनिन्, ‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ। अहिले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ। यो पहिला भन्दा साँढे २ सय रुपैयाँले बढी हो। त्यसै गरेर गृह मन्त्रालयको प्रस्तावमा यो अनुचित लेनदेन, यो मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग बनेको थियो हाम्रो। त्यो आयोगको म्याद ३ महिना थप गर्ने भन्ने निर्णय गरिएको छ। संघीय निजामती सेवा ऐन अनुसार वरियताको आधारमा लक्ष्मीकुमारी बस्नेत सचिव पदमा बढुवा हुनु भएको छ। त्यसै गरेर आज असाध्यै दु:खद घटना तपाईहामी सबैलाई थाहा छ–क्याक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ।’
मन्त्रिपरिषद् बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।