काठमाडौं– सरकारी वकिल समाजले न्यायाधीश नियुक्तिमा संवैधानिक व्यवस्था पालना गर्दै योग्य व्यक्तिहरुलाई मात्र सिफारिस गर्न न्याय परिषद्लाई ध्यानाकर्षण गराएको छ। समाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारी वकिलहरुलाई विगतमा उपेक्षा हुने गरेको भन्दै यस पटकको नियुक्तिमा उचित प्रतिनिधित्वको माग गरेको छ।
‘न्यायाधीशको नियुक्तिका सन्दर्भमा सबै पक्षको उचित र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक मर्म र भावना अनुरुप विभिन्न तहका अदालतमा हुने न्यायाधीश नियुक्तिमा सरकारी वकीलको उचित प्रतिनिधित्व हुनेछ भन्ने सरकारी वकिल समाज नेपालले अपेक्षा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक र कानुनी प्रावधान अनुसार न्यायाधीश नियुक्तिमा विश्वनीयता कायम राख्ने अधिकार प्राप्त निकाय न्यायपरिषद् रहेकोले न्याय परिषद्बाट पारदर्शी रुपमा योग्य, दक्ष र सक्षम् न्यायाधीश नियुक्ति हुने नै छ भन्ने विश्वास यस समाजले लिएको छ।’
स्वतन्त्र, सक्षम, निष्पक्ष र सुदृढ न्यायपालिकाले मात्र लोकतन्त्र र विधिको शासनको रक्षा गर्न सक्ने भन्दै यसको लागि योग्यतम व्यक्तिहरु न्यायाधीशमा नियुक्ति हुन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।
‘हाल सर्वोच्च, उच्च र जिल्ला अदालतमा ठूलो संख्यामा न्यायाधीशको पद रिक्त रहेको अवस्था छ। न्यायाधीश नियुक्ति प्रक्रिया रोकिँदा न्याय सम्पादनका कामहरु प्रभावित हुन गई जनताको शिघ्र न्याय पाउने अधिकारको हनन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नियमित रुपमा हुनुपर्ने न्यायाधीश नियुक्ति समयमै नहुँदा उमेर हदका कारणले सेवामा रहेका दक्ष जनशक्ति अवसरबाट वञ्चित हुनुपर्ने अवस्था छ।’
समाजले न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने आपेक्ष गरेको छ। हाल सर्वोच्च अदालतमा ६, उच्च अदालतको मुख्य न्यायाधीशमा ६ र उच्च अदालतका ४१ पद रिक्त रहेको छ। त्यस्तै जिल्ला अदालतमा पनि ठूलो संख्यामा न्यायाधीश रिक्त रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।