काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले राजसंस्था सम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा डा विष्णुबहादुर भण्डारीको संयोजकत्वमा सुझावसहितको प्रतिवेदन पेस गर्न एक समिति गठन गर्हे निर्णय गरेको छ।
समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ।
यसैगरी सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्नको निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णयसमेत गरेको छ। परिषद्को अध्यक्षमा प्रा डा विष्णु बहादुर भण्डारीलाई मनोनयन गरिएको छ।
यसैगरी पार्टीसँग आबद्ध भातृसंगठनहरु राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपांग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको छ।
साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोश्रो हप्ता काठमाडौंमा बोलाउने निर्णय गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।