काठमाडौं– कोशी प्रदेश सरकार गठनको निर्णयविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा मंगलबार पनि पेसी तोकिएको छ। एमाले प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।
१४औं नम्बरमा पेसी रहेको उक्त मुद्दा लगातार तेस्रो दिन एकल इजलासमा पेसी तोकिएको हो। आइतबारदेखि दैनिक पेसी तोकिने तर हेर्न नभ्याउने हुँदै सर्दै आएको छ।
कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेससहितका दलको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको हकमा बहुमत नपुगेको अवस्थामा नियुक्ति दिएकाले बदर हुनुपर्ने माग गरिएको छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको प्रस्ताव आह्वानपछि सभामुखसहितको हस्ताक्षर पेस गरेर लिइएको नियुक्ति र सपथ गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ।
कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस सहितका गठबन्धनको ४६ मत मात्र भएको अवस्थामा सभामुखलाई समावेश गरेर मुख्यमन्त्री दाबी गर्नु संविधान मिच्ने कार्य भएको दाबी रिटमा गरिएको छ। रिटमा पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गरेर मुख्यमन्त्रीलाई काम गर्न रोक लगाउनुपर्ने माग गरिएको छ। अनि निरन्तर सुनुवाइ गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्नु भनेर परमादेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ।
सर्वोच्चले पहिलो सुनुवाइ गरेमा अन्तरिम आदेशका बारेमा निर्णय गर्नेछ। सर्वोच्चले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश पनि जारी गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।