काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर अवरुद्ध हुँदै आएको संसद् खुलेको छ। प्रधानमन्त्रीले सोमबारको प्रतिनिधि सभामा स्पष्टीकरण दिएसँगै एमालेको अवरोध हटेको हो। यसअघि प्रधानमन्त्रीबाट स्पष्टीकरण नभइ, राजीनामा मात्रै चाहेको बताउने एमालेले स्पष्टीकरणमै चित्त बुझाएपछि अवरोध खुलेको हो।
प्रतिनिधि सभामा गत २१ गते एमालेको तर्फबाट सांसद रघुजी पन्तले प्रचण्डको कडा आलोचना गरेका थिए। राष्ट्रिय सभामा पनि एमालेका सांसदहरुले फरक–फरक दिनमा उस्तै भनाइ राखेका थिए। उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एक सूत्रीय शर्त अघि सारेका थिए। जसका कारण बैठक अवरुद्ध हुँदै आएको थियो।
सोमबारको बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटा, रास्वपाका सांसद तथा सभापति रवि लामिछाने र राप्रपाका सांसद तथा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको आलोचना गरेका थिए। बाँस्कोटाले प्रचण्डले तिरंगा उचाल्ने हो कि चन्द्रसूर्य झन्डा उचाल्ने स्पष्ट पार्नुपर्ने बताए। त्यस्तै, लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक भएको भन्दै जवाफ दिनुपर्ने बताए। लिङ्देनले भने प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।
सोमबार प्रतिनिधि सभामा स्पष्टीकरण दिनुअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। सोही छलफलले प्रधानमन्त्रीले स्पष्टीकरण दिने र एमालेले अवरोध हटाउने सहमति जुटाएको थियो। सोही अनुसार प्रधानमन्त्रीले स्पष्टीकरण दिएका हुन्।
आइतबार पनि तीन नेताबीच सिंहदरबारमै छलफल भएको थियो। र प्रधानमन्त्रीले स्पष्टीकरण दिने र एमालेले अवरोध हटाउने सहमति गरेको थियो। तर सिंहदरबारबाट बाहिरिएका ओली नयाँ बानेश्वर नपुग्दै सहमति भाँडिएको थियो। खासगरी प्रधानमन्त्रीको सचिवालयले जारी गरेको वक्तव्यलाई लिएर ओलीले असन्तुष्टि व्यक्त गरेपछि आइतबारको बैठक सोमबारसम्मका लागि स्थगित हुन पुगेको थियो।
प्रधानमन्त्रीले स्पष्टीकरणका क्रममा आफ्नो अभिव्यक्तिमाथि प्रश्न उठिसकेपछि सदनबाट जवाफ दिन चाहेको भए पनि अवरोधका कारण सम्भव नभएको बताए। त्यसक्रममा उनले अवरोध गर्नुको कारण माग गरे। ‘माननीय सदस्यहरुले यहाँ बोल्दा स्पष्टीकरण पार्नु पर्दैन? भनेर गम्भीर ढंगले बोल्नुभयो। मैले सुरुदेखि नै स्पष्टीकरण पार्नका लागि पर्खेर बसेको थिएँ। तर मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो? राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनेर किन भनियो मैले बुझ्न सकेको छैन। के यही हो संसदीय अभ्यास?’, उनको प्रश्न थियो।
प्रधानमन्त्रीले प्रतिपक्षीले माग्दैमा किन राजीनामा दिने? भनेर प्रतिप्रश्न गरे। उनको भनाइ थियो, ‘किन तीन दिनसम्म संसद् अवरोध गरियो? मैले बुझ्न सकिनँ। के प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै दिनुपर्ने हो? यही हो परम्परा र विधि? के प्रतिपक्षीले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीलाई सदन समक्ष स्पष्टीकरणको मौका पनि दिन पनि नहुने हो? यो मेरो प्रश्न मात्रै हो।’
भावनात्मक जवाफ
सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले असार १८ गतेको अभिव्यक्ति आफूले प्रधानमन्त्रीको हैसियतमा नदिएको बताए। भावनात्मक पक्षलाई जोड दिएर सम्बोधन गरेका प्रधानमन्त्रीले आफूले बोल्न नहुने कुरा बोलेको बताए। त्यतिबेला आफू भावुक भएर बोलेको उनको भनाइ थियो।
असार १८ गते प्रचण्डले प्रितम सिंहलाई जोडेर उनी राजनीतिमा पनि रुचि राख्ने र एक पटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको बताएका थिए। ‘धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंका कैयौँ पार्टीहरुलाई, नेताहरुलाई, पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो’, उनको भनाइ थियो।
सो कार्यक्रममा आफू प्रधानमन्त्रीको हैसियतलेभन्दा पनि ज्ञानु (प्रचण्डको छोरी, उनको निधन भइसकेको छ) को बुवा भएर बोल्न पुगेको बताए।
स्पष्टीकरणको क्रममा प्रचण्डले ज्ञानु अन्तिम अवस्थामा पुगेको समयमा भेट्न जाँदा प्रितमको दिल्लीस्थित फ्ल्याटमा भएको उक्त संवाद सम्झिएका थिए। उनले त्यो समयलाई स्मरण गरे, ‘म छोरी भेट्न जाँदा प्रितम सिंह र उहाँका आफन्त त्यहीँ हुनुहुन्थ्यो। त्यही बेला नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भन्नुभयो। उहाँले भावनामा आएर मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु र नेपालमा पार्टीहरुसँग कुरा गर्ने गरेको छु भन्नुभयो। मैले धन्यवाद भनेँ। यो मेरो कुरा पनि थिएन। पारिवारिक वातावरणमा उठाएको कुरामा सदासयताका लागि धन्यवाद भनेँ।’
उनले प्रितम सिंह त्यस्तो शक्तिकेन्द्र नभएको स्पष्ट पारे। त्यो भावना मात्रै रहेको पनि बताए। आफूले भावुक भएर बोलेको बताउँदै आत्मालोचना गरेका छन्। आगामी दिनमा आफू त्यसरी भावुक नहुने कोसिस गर्ने पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।