काठमाडौं– नेकपा एमालेले कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटले सुनुवाइको पालो नै पाएन। सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको मुद्दाको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। उक्त रिट क्रमसंख्याअनुसार भट्टराईको इजलासमा २४औं नम्बरमा थियो।
नेकपा एमालेले कोशी प्रदेशको सरकार गठन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट रिट दायर गरिएको थियो। रिटको अर्को पेसी मंगलबार वा बुधबार राख्ने अदालतको तयारी छ।
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति गर्ने निर्णयबाट नेपालको संविधानको ठाडो उल्लंघन भएको दाबी रिटमा गरिएको छ।
नेकपा एमालेले सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर समावेश गरेर नेपाली कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय गैरसंवैधानिक भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ। रिटमा मुख्यमन्त्री थापालाई कामकाजमा रोक लगाउन पनि माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।