काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन्।
सोमबार निर्माणधीन संसद् भवनको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्।
सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउनसके हिउँदे अधिवेशनदेखि नयाँ संसद् भवनबाटै संसदीय गतिविधि अघि बढाउन आग्रह गरे। उनले संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताए।
उनले संसद् भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको दाबी गरे। भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उनले आग्रह गरे। भवन निर्माणका क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न सरकारको सहयोग हुने उनको भनाइ छ।
त्यसैगरी, सहरी विकासमन्त्री सीता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गरिन्। उनले श्रमिकको संख्या बढाउन आफूले पटक–पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।