काठमाडौं– करिब सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सिटिजन्स् बैंक इन्टरनेशनलका तीन कर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने बैंकका कर्मचारीहरुमा भक्तपुर घर भई बांगेमुढा बसने बरिष्ठ सुन जाँचकी सामिन शाक्य, सहायक सुन जाँचकी विन्देश शाक्य र अमितराज बज्राचार्य छन्।
त्यस्तै ऋणीहरु मोरङ शनिश्चरेका लभ बराइली र संखुवासभा चैनपुरका उमेश बराइली छन्। उनीहरुले कर्मचारीसँग मिलेर बैंक ठगेका हुन्।
सिआईबीका एसपी सानुराम भट्टराईका अनुसार उनीहरुले सिटिजन्स् बैंकको न्यूरोड शाखामा सुन धितो राखेर कर्जा लिएका थिए।
धितो राखिएको सुनमध्ये करिब साढे सात किलो सुन उनीहरुले कर्मचारीहरुको मिलेमतोमा गोप्य तरिकाले निकालेका थिए। केही महिनापछि फिर्ता गर्ने भनेर उनीहरुले सुन निकालेका थिए। त्यसका लागि कर्मचारीलाई आर्थिक प्रभावमा पारेका थिए।
तर, सुन लिएपछि उनीहरु सम्पर्कविहिन भए। कर्जाको म्याद नाघेपछि बैंकले सुन लिलामी प्रक्रियातर्फ अघि बढाउँदा ७ किलो ४ सय ९७.२८ ग्राम सुन अपुग थियो।
त्यसपछि बैंकले प्रहरीमा उजुरी दिएको हो। घटनामा संलग्न केही व्यक्तिहरु अझै फरार छन्।
सो घटनामा बैंकलाई २ करोड २८ लाख ३८ हजार १ सय ५२ रुपैयाँ नोक्सान भएको छ।
प्रहरीले बैंकिङ कसुर मुद्दामा उनीहरुमाथि कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।