काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘म नै राष्ट्र हुँ’ भन्ने खालको भएको आरोप लगाएका छन्।
राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्र माथिका चुनौतिहरू’ विषयक अन्तरक्रियामा बोल्दै सिटौलाले सरकार संविधानको बाटोभन्दा बाहिरबाट हिँड्न खोजिरहेको र त्यसलाई रोक्न लोकतन्त्रवादीले प्रयास गर्नुपर्ने बताए।‘मै हुँ राष्ट्र भनेजस्तो प्रधानमन्त्री बन्न थाल्नुभयो। प्रधानमन्त्रीको बोली बचन व्यवहारमा नै नेपाल राष्ट्रको हो भन्ने शैली छ’, सिटौलाले भने, ‘यस्तो खतरनाक शैली उहाँले सुरु गर्नुभयो।’
ओली संविधानको पद्धतिबाट प्रधानमन्त्रीको कुर्सीमा पुगे पनि त्यही संविधानको मूल्य र लक्ष्यलाई तोड्ने बाटोमा अग्रसर भएको सिटौलाले बताए। ‘यो चिन्ताको विषय हो। यसले राजनीतिमा दुर्घटना ल्याउँछ’, उनले थपे।दुई तिहाइको शक्तिशाली सरकार नम्र र शान्त हुनुपर्ने भए पनि त्यस्तो नभएको सिटौलाले बताए। 'सरकार गलत बाटोमा हिँड्न खोज्दै छ। त्यसैले ऊ डराएको छ’, उनले भने, ‘त्यसैले राज्यको सबै अंगहरूलाई आफ्नो नियन्त्रणमा राख्न खोज्दै छ।’
सिटौलाले कांग्रेस संसदमा दह्रोगरी नउभिने हो भने प्रधानमन्त्री ओली नसुध्रिने दाबी गरे। उनले सरकार अलोकप्रिय हुँदै गएको पनि बताए। ‘अहिले नै चुनाव हुने हो भने सरकार हार्छ’, उनले सुनाए।सिटौलाले पार्टीभित्रका गलत प्रवृत्ति विरुद्ध लड्न कार्यकर्तालाई आग्रह गरे। ‘गलत कुराका विरुद्ध उभिने कांग्रेसको लिगेसी हो’, उनले उपस्थित कार्यकर्तालाई प्रश्न गरे, ‘कांग्रेसभित्रका गलत कुरालाई रोक्न किन पहल गर्नुहुन्न?’
उनले पार्टीभित्र घोषित सिद्धान्त र व्यवहारमा अन्तर देखिएको भन्दै त्यसलाई सच्याउन बाध्यात्मक परिस्थिति सिर्जना गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।