लुम्बिनी– बिमस्टेक सम्मेलनको लागि नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्।
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सुरु हुनुअघि नै उनले लुम्बिनीको भ्रमण गरेका हुन्। काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोली सहित भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टर मार्फत लुम्बिनी पुगेका हुन्।
हेलिकप्टरमा उनी सहित १६ जना लुम्बिनी आएका थिए। बाँकी म्यानमारका पाहुना र स्वदेशी सहयोगी सहित २० जना भैरहवा विमानस्थलबाट सवारीसाधनमा लुम्बिनीमा पुर्याइएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी तथा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले राष्ट्रपति विन मिन्टलाई स्वागत गरेका थिए।

राष्ट्रपति मिन्टले मायादेवी मन्दिरको दर्शन गर्दै गर्दा उनलाई लुम्बिनी विकास कोषका अधिकारीहरूले ‘ब्रिफिङ’ गरेका थिए। उनलाई पर्यटमन्त्री रवीन्द्र अधिकारीले मायाँको चिनो स्वरुप बुद्धको मुर्ती प्रदान गरे। त्यसपछि उनले पण्डिताराम ध्यानकेन्द्रमा केही समय पुजाआजा गरेको थिए।
त्यसपछि म्यानमार सरकारले नै निर्माण गरेको गोल्डेन टेम्पलको समेत अवलोकन गरेका थिए। राष्ट्रपति मिन्टसँग म्यानमारका विशिष्ट व्यक्तित्व पनि सहभागी थिए। लुम्बिनी विकास कोषका अनुसार होटल कासाइमा भोजन गरी राष्ट्रपति मिन्ट काठमाडौं फर्केका छन्।
म्यानमारका राष्ट्रपतिलाई रोहिंग्या समुहबाट सुरक्षा खतरा रहेको विश्लेषण गर्दै लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। सुरक्षा निकायले उनको खतराबारे विश्लेषण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको जनाएका छन्।
राष्ट्रपति मिन्टको सुरक्षाका लागि सरकारले ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कुल १ हजार ६ सय सुरक्षाकर्मी खटाएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।