काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ। कार्यालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.६ प्रतिशत, १२.९ प्रतिशत र ६२.४ प्रतिशत रहने अनुमान छ।
यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.६९ प्रतिशत रहने अनुमान छ। मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ७ खर्ब ७ अर्ब पुग्ने अनुमान छ। चालु आर्थिक वर्षमा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.२ प्रतिशत, ११.३ प्रतिशत र ५३.५ प्रतिशत रहने अनुमान रहेको छ।
कृषिको सबैभन्दा बढी योगदान मधेस प्रदेशको
विभागबाट प्रकाशन भएको अनुमानित विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा बढी योगदान मधेस प्रदेशको ३५.२ प्रतिशत रहने अनुमान छ।
त्यसैगरी, उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकी प्रदेशको १७.४ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा बढी योगदान बागमती प्रदेशको ७७.४ प्रतिशत रहने अनुमान छ। सोही विवरण अनुसार प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा कम बागमती प्रदेशमा ११.९ प्रतिशत रहने अनुमान छ।
त्यसैगरी उद्योग क्षेत्रको सबैभन्दा कम योगदान कर्णाली प्रदेशको १०.१ प्रतिशत र सेवा क्षेत्रकोसबैभन्दा कम योगदान कोशी प्रदेशको ५० प्रतिशत रहने अनुमान छ। मधेस प्रदेशमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.४ प्रतिशत, ११.३ प्रतिशत र ५३.३ प्रतिशत रहने अनुमान छ।
आर्थिक वर्ष २०७९/८० को अनुमानित कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँमध्ये बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.८ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान रहेको छ। अनुमानित राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३.१ प्रतिशत रहने अनुमान छ।
प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर हालका दिनहरुमा नेपालमा कोभिड–१९ को प्रभावको अवस्था छैन। तथापि, विश्वका अन्य देशमा भएका घटनाले विश्वव्यापी रुपमा आपूर्ति श्रृंखला खलबलिएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेको छ।
यस वर्षको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरको अनुमान उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत हुने अनुमान रहेको छ। प्रदेशगत आधारमा हेर्दा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा बढी गण्डकी प्रदेशमा ३.३ प्रतिशत रहने अनुमान रहेको छ भने सबैभन्दा कम वृद्धिदर बागमती प्रदेशमा १.४ प्रतिशत रहने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।