काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि बजेट निर्माण प्रक्रिया फेर्ने प्रतिबद्धता गरेका छन्। प्रधनमन्त्री प्रचण्डले बजेट बनाउँदा सांसदहरुको भूमिका नरहेकोले अब त्यसको अन्त्य हुने दाबी गरेका छन्।
यसका लासग फागुन मसान्तमै सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्ने प्रधानमन्त्रीले बताएका छन्।
‘आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपश्चात फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गर्ने व्यवस्था मिलाइनेछ,’ प्रधानमन्त्रीले भनेका छन्।
बजेटको सिद्धान्त र प्राथमिकतामा पर्याप्त छलफल गरी सांसदहरुबाट प्राप्त मार्गदर्शन र सुझावका आधारमा यथार्थपरक बजेट तर्जुमा गर्न सघाउ पुग्नेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।
प्रधनमन्त्रीका अनुसार बजेट निर्माणमा सघाउ पुर्याउन प्रत्यक्ष निर्वाचित सांसदको संयोजनमा समिति बनाएर राय सुझाव लिइनेछ।
‘बजेट निर्माणमा सांसदको कुनै पनि भूमिका नभएको आजसम्मको बजेट निर्माण प्रणालीलाई परिवर्तन गर्दै आगामी वर्षदेखि बजेट निर्माण गर्ने प्रक्रियामा प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा सम्बन्धित क्षेत्रका अन्य सांसदहरुको सल्लाह बमोजिम बजेट निर्माण गर्ने परिपाटी सुरु गर्ने सम्बन्धमा सम्मानित सदनमा प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणको मौजुदा प्रणालीले विकास प्राणाली नै असफल भएकोले यसमा परिवर्तन आवश्यक रहेको जनाएका छन्।
‘यसले असफल भइसकेको विकास प्रक्रियालाई नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियालाई सुधार गर्ने छ र देशले नयाँ गति दिनेछ भन्ने म विश्वास गर्छु,’ उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।