काठमाडौं– एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। एकीकृत समाजवादीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप लगाइएको बताए।
यसअघि उक्त दलले बजेटमा संशोधन आवाज उठाउँदै आएको थियो। पार्टी अध्यक्ष माधव नेपालसहित राजेन्द्र पाण्डेसहितले बजेट संशोधन नभई पारित नहुने टिप्पणी गर्दै आएका थिए। तर उक्त दल संशोधन नभई पनि पारित गराउने पक्षमा उभिएको छ।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित गराउनुपर्नेमा सर्त नराख्न आग्रह गरेपछि एकीकृत समाजवादी पछि हटेको हो। यसअघि नेपाली कांग्रेसले बजेट पारित गर्ने बैठकमा अनिवार्य उपस्थित हुन र मतदान गर्न ह्वीप जारी गरेको थियो। सत्ता गठबन्धनभित्र रहेका एकीकृत समाजवादी र जसपाले बजेटमा विरोध गर्दै आएका छन्। केही बेरमा जसपाले पनि बजेटको विषयमा आफ्नो पोजिसन प्रष्ट पार्नेछ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय लगायतको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।