काठमाडौं- एमाले सांसद योगेशकुमार भट्टराईले बाढी-पहिरोको कारण ताप्लेजुङ्गमा ठूलो मानवीय संकट उत्पन्न भएकोले तत्काल उद्धार र राहत पुर्याउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले उक्त माग गरेका हुन्।
‘ताप्लेजुङ्गमा एक किसिमले भन्ने हो भने मानवीय संकट उत्पन्न भएको छ। खाद्यन्न संकट भएको स्थानहरुमा हवाई यतायातबाट भए पनि खाद्य, औषधिहरुको आपूर्ति गर्न सरकारसँग माग गर्छु,’ सांसद भट्टराईले भनेका छन्।
ताप्लेजुङ्गको सिदिङ्वा गाउँपालिकाको मेहेले, श्रीजंघाको यम्फुदिन, मैवाखालाको ओदक लगायतका स्थानहरुमा खाद्य संकट, औषधिको संकट उत्पन्न भएर ठूलो मानवीय संकट उत्पन्न भएको सांसद भट्टराईले बताएका छन्।
यस्तै, बाढी-पहिरोको कारण भत्किएका सडक र पुलहरुको पनि निर्माण कार्य ढिला भएको भन्दै छिट्टो काम अगाडि बढाउन पनि सांसद भट्टराईले माग गरेका छन्।
‘पुलहरु बगाएको छ। सडकहरु भत्काएको छ। तर जति तदारुकताका साथ त्यसको मर्मत सम्भार हुनु पर्थ्यो त्यो हुन सकेको छैन,’ उनले भने,‘पुलहरु, सडकहरुको कामलाई तत्काल अघाडि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।