काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ५ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। श्रेष्ठ मंगलबार राति ११:२० बजेको उडानमार्फत् चीन प्रस्थान गरेका हुन्।
गृहमन्त्री श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसहित नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवर तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले विमानस्थलमा बिदाइ गरे।
५ दिने भ्रमणका लागि चीन गएका श्रेष्ठ बुधबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन्। यस्तै, बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन्।
बिहीबार नै दिउँदो उनले छेन्दुको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन्। बिहीबार साँझ उनी चिनियाँ कम्युनिस्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सरिक हुनेछन्।
1687915904.JPG)
उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नेछन् भने त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन् । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नेछन्। दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ।
शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नेछन्।
शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत् बिहान उनी स्वदेश फर्किनेछन्।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।