काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनि माथि जान खोजेको आरोप लगाएका छन्।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन्। उनले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनु नहुने बताए। उनले सबै क्षेत्र अख्तियारले नै हेर्नुपर्छ भन्ने पद्धतिको विकास गर्नु नहुने बताएका हुन्।
‘अख्तियार हिजोको श्री ५ भन्दा पनि माथि जान खोज्यो, त्यसैले निजी क्षेत्रमा अख्तियारको प्रवेश गर्न दिनु हुँदैन, राजश्व पनि आफैं हेर्ने, प्रत्येक कार्यालय, मन्त्रालय, सम्पत्ति शुद्धीकरण कार्यालय, सबै यसले हेर्ने पद्धतिको विकास गर्नु हुँदैन।’
यस्तै उनले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् अवरोध गरेको आरोप लगाएका छन्।
उनले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बँचेको हफ भन्ने भ्रम जनतामा छर्नका लागि संसद् अवरोध गरेको बताए। नेपाली कांग्रेस जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा नरहेको उनको भनाइ छ।
उनले भने, ‘हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने देखाउन रास्वपाले संसद अवरोध गरेको हो। हामी कोही पनि नेपाली कांग्रेस र सरकार जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा छैन। यो अवरोध भनेको हामीले गर्दा जिल्ला निर्वाचन कार्यालय रहेको हो भन्ने गलत सन्देश दिन रास्वपाले अवरोध गरेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।