काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने बताएका छन्।
गत असार ४ गते मन्त्रिपरिषद्मा पेस गरिएको सो विधेयक त्यहाँबाट स्विकृति प्राप्त हुनेबित्तिकै संसद्मा पेस गर्ने उनको भनाइ थियो। मंगलबार प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी गरे।
उनले भने, ‘संघीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरुले जिज्ञासा राख्नु भएको छ। मैले यस बारेमा पनि यहाँहरुलाई निवेदन गरिसकेको छु। असार ४ गते त्यो मन्त्रिपरिषद्मा दर्ता भइसकेको छ। आज १२ गते हो। मलाई लाग्छ आजको क्याबिनेटमा त्यो आइसकेको होला। र, मन्त्रिपरिषद्ले अनुमति दिनेबित्तिकै संसद्मा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरुलाई निवेदन गर्न चाहन्छु।’
मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरुले पर्याप्त सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको सदनलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।