काठमाडौं– प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेट वार्ता गरेकी छन्।
चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारमा उपसभामुख रानाले भेटवार्ता गरेकी हुन्।
भेटमा उपसभामुख रानाले नेपाल–चीन सम्बन्ध निकै पुरानो र घनिष्ट भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूल, जडिबुटी लगायत कृषि उत्पादनहरु अर्गानिक र उत्कृष्ट हुने भन्दै उपसभामुख रानाले नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म विस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताइन्।
भौगोलिक विकटता र पर्याप्त सडक मार्गको विकास नहुँदा छिमेकी देश चीनसँग सीमित मात्रामा नाकाहरु रहेको भन्दै उपसभामुख रानाले भएका नाकाहरु पनि बेला बेलामा बन्द हुने गरेकाले समस्या हुने गरेको बताइन्। नेपालमा बनाइएको कार्पेट चीनमा निर्यात हुने गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै उपसभामुख रानाले कतिपय कार्पेट जेलमा रहेका कैदी बन्दीहरुले समेत बनाउने गरेको उल्लेख गरिन्।
सो अवसरमा संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै निकै घनिष्ट रहेको बताइन्।
तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैं विशेष प्राथमिकता दिने बताए।
भूकम्प र कोरोना महामारीका कारण नेपाल–चीन सीमा नाकाहरुमा केही समस्या आएको चर्चा गर्दै जियाङले पछिल्लो समय सबै नाकाहरु खुल्दै गएको र सामान आयात निर्यातमा हुने कठिनाइ हट्दै गएको बताए।
कृषि उत्पादन अर्गानिक र स्वस्थ हुनुपर्नेमा आफूहरुसचेत रहेको चर्चा गर्दै जियाङले तिब्बत सरकारले रासायनिक मलको प्रयोग कम गर्ने र अर्गानिक मलको वृद्धि गरी माटोको उर्वरा शक्ति कसरी बढाउने भन्नेमा काम भइरहेको बताए।
उपसभामुख रानालाई तिब्बत भ्रमणको निम्तो गर्दै उनले आफ्नै आँखाले तिब्बतको विकास हेर्न आग्रह गरे। भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ पनि सहभागी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।