रसुवा– रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा झन्डै डेढ लाख रुपैयाँ भेटी संकलन भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमका अनुसार जनैपूर्णिमा मेला भर्न गएका भक्तजनबाट १ लाख ४१ हजार ६ सय रुपैयाँ भेटी संकलन भएको हो।
समितिले मेलामा संकलन गरेको भेटी प्रहरी र पत्रकारको रोहवरमा मंगलबार जिल्ला प्रहरी कार्यालय रसुवामा सार्वजनिक गरेको छ। समितिका अध्यक्ष डिएमका अनुसार अघिल्लो वर्षको मेलामा ९८ हजार रुपैयाँ भेटी संकलन भएको थियो।

संकलन भएको भेटी गोसाइँकुण्ड क्षेत्र विकास समितिको खातामा जम्मा गरिने समितिका अध्यक्ष डिएमले बताए। सो भेटी गोसाइँकुण्डको मेला व्यवस्थापन तथा कुण्डको संरक्षणमा खर्च गरिने समितिका अध्यक्ष डिएमले जानकारी दिए। २०५६ सालदेखि मेलाको व्यवस्थापन गर्दै आएको समितिले हरेक वर्ष भेटी संकलन गर्ने गरेको छ।
हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष गत साउन ३१ देखि भदौ १० सम्म लागेको थियो। यस वर्ष १० दिनसम्म चलेको मेलामा करीब १० हजार तिर्थयात्रीले मेला भरेको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।