फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि संसद् (प्रतिनिधि सभा) बैठक स्थगित भएको छ।
रास्वपा सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज हुने सरकारको घोषणा खारेज नभएको भन्दै मंगलबार प्रतिनिधि सभाको बैठकमा सुरुमै विरोध जनाएका थिए।
रास्वपाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिएको थियो।
बैठक सुरु हुने बित्तिकै रास्वपा सांसद सन्तोष परियारले सरकारले उक्त निर्णयको खारेजी नगरेसम्म आफूरुको विरोध जारी रहने भनेपछि सभामुख देवराज घिमिरले आफ्नो ध्यानाकरष्ण भएको बताएका थिए।
तर, रास्वपा सांसदहरुले आफ्नो विरोध कायम राखेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको विषयमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयहरुलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइ राख्ने घोषणा गरेको थियो। उक्त घोषणाको संसद्मा र बाहिर पनि विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।