काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन्।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्नसमेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दामाथि रहेको बताए।
दुई सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैंमा वस्तुगत निर्णय नभएको उनको दाबी छ। उनले जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने बताए।
जलहरी राख्नुको ध्येय स्वर्णाक्षरमा आफ्नो नाम लेखाउनु रहेको उनको भनाइ छ। जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।