रास्वपा सांसद सन्तोष परियार (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय त्रुटिपूर्ण रहेको भन्दै सच्याउन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने व्यवस्था गरेको भन्दै विरोध जनाए।
उनले भने, ‘लोकतन्त्रमाथि भएको यो घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ। यो राजनीतिक आन्दोलनले गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सीडीओ कार्यालयअन्तर्गत राख्नु कुचेष्टा हो। यसले लोकतन्त्रलाई बलियो बनाउँदैन।’
जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने बताउँदै उनले स्वतन्त्र रुपमा जन्मिएका राष्ट्रिय पार्टीहरुलाई बन्देज लगाउने षड्यन्त्रपूर्ण खेल रचेको आरोप लगाए।
सांसद परियारले आजको लोकतान्त्रिक व्यवस्था कुनै अमुक राजनीतिक पार्टीका कारणले मात्रै नआएको बताउँदै तमाम नेपाली जनताको विज्ञान, चेतना र उनीहरुको छविको ज्ञानको कारण आएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।