काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने बताएका छन्।
आइतबार संसद् भवनबाहरि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले चीनको सिचुआन प्रान्तस्थित छिन्दुमा आयोजना हुने ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी एक्स्पोमा विशेष अतिथिको रुपमा आफू जान लागेको बताए।
मन्त्री श्रेष्ठले छिन्दु नेपालबाट चीन प्रवेश गर्ने नाका भएकाले पनि आफू सो कार्यक्रममा सहभागी हुनुले आर्थिक समृद्धिको अजेण्डालाई केही राहत मिल्ने र लगानी भित्र्याउन सकिने आश रहेको बताए।
उनले भने, ‘सिचुआन प्रान्तमा एउटा एक्स्पो गरिएको छ। छिन्दुमा एउटा एक्स्पोको आयोजना गरिएको छ, ट्रेड इन्भेष्टमेण्ट सम्बन्धी, हाम्रो इन्भेष्टमेण्ट ट्रेडको बारेमा छलफल हुन्छ। किनभने छिन्दु चीन प्रवेशको नाका हो। हाम्रो अहिलेको प्रमुख अजेण्डा आर्थिक समृद्धि हो। त्यसैले लगानी र व्यापार प्रवर्द्धनका बारेमा छलफल हुन्छ।’
मन्त्री श्रेष्ठ आगामी मंगलबारबाट शुक्रवारसम्मका लागि चीन भ्रमणमा जाँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।