काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार निरन्तर आफ्नो समयसम्म कायम रहनुपर्ने बताएका छन्। आइतबारदेखि सुरु भएको पार्टीको विधान अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सत्ता गठबन्धनको निरन्तरताको पक्षमा मत राखेका हुन्।
‘अहिले हामी सरकारमा छौं। निकै हल्ला चलिरहेको छ। हामी चाहन्छौं यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस्। र यो गठबन्धन अगाडि बढोस्,’ उनले भने।
उनले सरकारले जनतालाई डेलिभरी दिनुपर्ने, परिवर्तनको नेतृत्व गर्नुपर्ने र त्यसका लागि बाटो खोल्नुपर्ने मत राखे।
यादवले अहिले आएको बजेटले जनतालाई निकै निराश तुल्याएको बताए। ‘झन् सबैभन्दा पछाडि परेको क्षेत्र कर्णाली प्रदेश या मधेस प्रदेशका जनतालाई बढी निरुत्साहित बनाएको छ। देशको आर्थिक व्यवस्थालाई सुदृढ गर्दै अर्थतन्त्रलाई गति दिने खालका बजेट अहिले नआएकाले पनि जनता निराश छन्’, उनको भनाइ छ।
उनले बजेटलाई सच्याउनुपर्ने र सुधार गर्नुपर्ने बताए। ‘तर सरकारलाई निरन्तर अगाडि बढाऔं’, उनले भने, ‘सरकारको दायित्व जनतालाई राहत दिने, जनताको हितमा काम गर्नेर मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउने, गरिबी र बेरोजगारीबाट मुक्ति दिलाउने र जनताका आवाजलाई सुन्नुपर्छ। सडकमा जनता के बोलिरहेको छ। राज्यले सुन्नुपर्छ। सरकारले सुन्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।