काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले अहिलेको प्रणालीले सरकार कतिबेला ढल्ने हो भन्ने मानसिकता रहने बताए।
‘अहिलेको शासकीय स्वरुप, दिनभर काम काम गर्ने र बेलुका सांसदको संख्या गन्नुपर्ने, सुतेर उठेपछि कोही हराए कि भन्ने या कसैले समर्थन फिर्ता लिए कि भन्ने, सरकार रहने हो कि ढल्ने बिहान भन्ने, यस्तो मानसिकता छ अहिलेको शासकीय स्वरुप र प्रणालीको’, आइतबार सुरु भएको विधान अधिवेशनमा सम्बोधन गर्दै उनले भने।
उनले नेपालमा अपनाइएको संसदीय प्रणाली र निर्वाचन प्रणालीले राजनीतिक स्थिरता दिन नसक्ने बताए। यसले विकासको गतिलाई अगाडि बढाउन नसक्ने र भ्रष्टाचार र कमिसनतन्त्रजस्ता विकृति र विसंगतिलाई पनि अन्त्य गर्न नसक्ने उनको भनाइ छ।
‘अहिलेको जस्तो महंगो चुनाव प्रणालीले भ्रष्टाचार नबढाए के गर्छ? अहिलेको जस्तो विकृत निर्वाचन प्रणालीले अनियमितता नजन्माएर के गर्छ? त्यसकारणले शासकीय स्वरुपमा करेक्सन गर्नुपर्छ’, उनले भने।
यादवले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति हुनुपर्ने र राष्ट्रपतिले सक्षम र विज्ञ व्यक्तित्वहरुबाट सरकार निर्माण गरेर स्थिरता विकास र समृद्धिलाई अगाडि बढाउनुपर्ने बताए।
‘अहिलेको जस्तो महंगो र विकृत निर्वाचन प्रणालीलाई अन्त्य गरेर समानुपातिक र समावेशीतामा आधारित समानुपातिक निर्वाचन प्रणाली र समानुपातिक संसद्को निर्माण गर्ने निर्वाचन प्रणाली, जहाँ पैसाको खर्च नहोस्’, उनको विकल्प छ, ‘दुनियाँको ७१ वटा मुलुकहरु छन्, जहाँ न पार्टी न उम्मेदवारले खर्च गर्नुपर्छ।’
यादवले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली जरुरी रहेको र त्यसका लागि संविधान संशोधन र परिमार्जन गर्न जरुरी रहेको बताए।
‘यदि संविधानमा संशोधन भएन। शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार भएन। राज्यको सात प्रदेशको जुन संरचना छ, यसका सुधार भएन। र पहिचनालाई मान्यता दिएर त्यसको आधारमा अगाडि बढेन भने भविष्यमा नयाँ संविधान बनाउनुपर्ने पनि आवश्यकता आउँछ’, उनले भने, ‘यो संविधानले धान्न सक्दैन।’
उनले आफूले अहिले नै नयाँ संविधान तुरुन्तै बनाउन नचाहेको बताए। अहिलेकै संविधानलाई सुधार गर्नुपर्ने उनको भनाइ छ। ‘सुध्रिन सकेन भने त्यसपछि विकल्प खोज्नुपर्ने बेला आउँछ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।