काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले उक्त दाबी गरेका हुन्। सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए।
उनले भने, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन।’
उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे। सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिरसमेत गरे।
लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए।
उनले भ्रष्टहरुलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहने प्रतिबद्धतासमेत दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।