काठमाडौं- नेपाल पत्रकार महासंघले जिल्ला संवाददाताबाट हटाइएका राष्ट्रिय समाचार समिति (रासस)का संवाददाताहरूलाई तत्काल पुनर्बहाली गर्न पत्र लेखेको छ।
महासंघका उपलब्ध केन्द्रीय समितिको निर्णय बमोजिम गत साउन २२ गते महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिको प्रतिनिधि मण्डलले राससका अधिकृतलाई भेटी स्थानीय समाचारदातालाई सेवामा निरन्तरता दिन आग्रह गरेको तर कार्यान्वयन नभएको भन्दै पत्र लेखेको हो।
महासंघले उक्त पत्रको कार्यान्वयन नभएमा तालाबन्दीसम्मको आन्दोलनमा उत्रनु पर्ने चेतावनी पनि दिएको छ। महासंघका सचिव रामप्रसाद दाहालले लेखेको पत्रमा श्रमजीवी पत्रकारको अधिकार रक्षाका लागि आवश्यक पर्दा सम्बन्धित सञ्चार गृहमा तालाबन्दी गर्ने सम्मको कठोर कदम चाल्ने तर समस्या समाधान गरीे संस्थागत हार्दिकता कायम राख्नेमा महासंघ विश्वस्त रहेको भनिएको छ।
राससले आस्थाका आधारमा प्रेम राउले (बाजुरा), ललित बहादुर सिंह (बझाङ), किरण (कृष्णबहादुर) धामी (दार्चुला), केशवचन्द्र महरा ‘पवन’ (डोटी), कविता उपाध्याय (रोल्पा), नृपेन्द्र बहादुर मल्ल (मुगु), सुशीला रेग्मी (पाल्पा), जनार्दन घिमिरे (गुल्मी), सनिउल्ला धोबी (कपिलवस्तु), दीपक घिमिरे (भैरहवा), तेजेन्द्र केसी (बुटवल), ध्रुव सागर शर्मा (म्याग्दी), सुरेन्द्र भण्डारी (झापा), जितेन्द्र भण्डारी (पाँचथर), गोकर्ण भण्डारी (दोलखा) र रामहरी न्यौपाने (नुवाकोट) लाई नवीकरण नगरेको दाबी महासंघको छ।
गत साउन २३ र २५ गते लुम्बिनीमा बसेको महासंघको केन्द्रीय समितिको बैठकले ‘सरकारी सञ्चार माध्यमसहित विभिन्न सञ्चारमाध्यमबाट निष्काशनमा परेका र नवीकरण नगरिएका पत्रकारहरुलाई तत्काल पुनर्बहालीको लागि दबाबमूलक ढंगले पहल गर्ने’ भनी गरेको निर्णयको सम्मान गर्दै देशको एक मात्र समाचार समितिले महासंघको सरोकार सम्बोधन गर्ने विश्वास गरिएको महासंघको पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।