काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चित्त बुझ्ने गरी काम नगरे अहिलेको गठबन्धन फेरिने संकेत गरेका छन्। गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो नभएको बताउँदै उनले काम नगरे गठबन्धन फेरिने उल्लेख गरे।
नेपाली कांग्रेस काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ। गठबन्धन बन्ने भत्किने भइरहन्छ।’
अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै उनले त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए। कांग्रेस महामन्त्री थापाले कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए।
सरकार छोड्न परे पनि नडराई एक्लाएक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताउँदै उनले भने, ‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।