काठमाडौं– विज्ञहरुले वैदेशिक लगानी भित्र्याउने गरी चिकित्सा शिक्षाको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
डा सुरेशराज शर्माले वैदेशिक लगानी मुलुकमा भित्र्याउने सम्भावनालाई ध्यानमा राखेर चिकित्सा शिक्षाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन्।
मंगलबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै उनले श्रम बजारमा बिक्ने जनशक्ति निर्माण हुनेगरी चिकित्सा ऐन बनाउन पनि समितिलाई आग्रह गरे।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति समेत रहेका उनले माथेमा आयोगको प्रतिवेदन देशका लागि उपयोगी हुनेतर्फ पनि समितिको ध्यानाकर्षण गराए।
बैठकमा डा मदन उपाध्यायले चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउने विषयमा विशेष जोड दिन समितिलाई आग्रह गरे। उनले विभिन्न अनुभव प्राप्त हुने गरी मेडिकल कलेज स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
समितिले विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर विधेयकलाई टुंगो लगाउने तयारी गरेको छ। समितिका सदस्यहरुले विधेयकमा व्यवस्था गरिएको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारको दायरालाई फराकिलो बनाउनुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।