काठमाडौं- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने स्पष्ट पारेका छन्।
मन्त्री लिम्बुले कांग्रेस एक्लै लडेर नेतृत्व गर्ने पार्टी भएको दाबी गर्दै त्यसका लागि टोल एवं वडास्तरमा सङ्गठन विस्तार गरी जनताको घरघरमा जानुपर्नेमा जोड दिए। उनले भारतीय चलचित्रमा सीतालाई भारतीय छोरी हुन् भनेर गरिएको गलत जानकारीलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा राख्नुपर्ने तर्क गरे।
मन्त्री लिम्बुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा जनकपुर आएर सीताको जन्मभूमि नेपालको जनकपुर हो भनेर पटकपटक मन्तव्य व्यक्त गरेको चर्चा गर्दै नेपाल र भारतको सम्बन्ध रामायणको पालादेखि भएकाले त्यसमा विवाद गर्नु आवश्यक नभएको विचार व्यक्त गरे।
उनले हाम्रा क्रिकेट खेलाडीले पूर्वाधार र सुविधाविहीन अवस्था समेतमा धेरै राम्रो खेल प्रदर्शन गरिरहेकोमा खुसी व्यक्त गरे। मन्त्री लिम्बुले आगामी दिनमा मोफसलमा खेलकुदको पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय खेलको लागि खेलाडी छनोटको व्यवस्था मिलाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।