काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्ठित देश भन्ने दिन सकिएको बताएका छन्। उनले दुई छिमेकी देशबीच सम्पर्क सञ्जाल विस्तारमा महत्वपूर्ण सहमति भएको र त्यसको कार्यान्वयन प्रक्रियासमेत सुरु भइसकेको बताए।
'चीन र भारत दुवै देशबाट रेल सञ्जाल निर्माण प्रक्रियामा ठूलो प्रगति भएको छ। यस्तै समुन्द्रसम्मको पहुँचका लागि जलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ', प्रधानमन्त्री ओलीले भने, 'हामीले नेपाल भूपरिवेष्ठित देश भन्दै आएका थियौं, अब ती दिन सकिएका छन्।'
नेपाल नगरपालिका संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले अब नदीबाट समुन्द्रसँग जोडिने बताए। 'भारतले जुनसुकै बन्दरगाह प्रयोग गर्न समेत दिने भएको छ । चीनतर्फ पनि सम्पर्क सञ्जाल विस्तार भएको छ', उनले भने।
प्रधानमन्त्रीले करको विषयमा जनस्तरमा अनेक प्रकारका हुने–नहुने भ्रम फैलाइएकाले त्यसलाई चिरेर जनतालाई सेवा दिन आग्रह गरे। करको विषयमा रहेको बुझाइका कारण भ्रम उत्पन्न गराउन खोजिएकाले जनतालाई बुझाएर साथैमा लिएर जाने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
केही स्थानीय तहले नबुझी लागू गरेको करका कारण संघीय सरकार र प्रदेश सरकारलाई समेत अपजस आएकाले त्यसलाई सच्याउनुपर्ने प्रधानमन्त्रीले बताए। स्थानीय सरकारलाई साधन स्रोत, सशक्त र प्रभावकारी बनाउन केन्द्रीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जनप्रतिनिधिलाई एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।